कावासोतीकी सीता, कौसीमा ड्रागन फल खेती गरेर मनग्य आम्दानी लिदै

कावासोतीकी सीता, कौसीमा ड्रागन फल खेती गरेर मनग्य आम्दानी लिदै

कावासोती । नवलपुरको कावासोती –९ निवासी सीता जिसी राउत कौसीमा ड्रागन (सिउडी) फल खेती गरेर मनग्य आम्दानी लिन सफल हुनुभएको छ ।
युट्युबबाट हेरेर प्रभावित भइ उहाँले कौसीमा ड्रागन (सिउडी) फल खेती सुरुआत गर्नुभएको हो ।


तीन वटा बिरुवाबाट सुरुआत गरेको ड्रागन फलको कौसी खेती अहिले ७० वटा गमलामा लटरम्म फलेका छन् । भने बारीमा पनि बिस्तार गरेर १०६ वटा पिल्लरमा बोट लगाउनुभएको छ । खाली समय त्यसै बस्नुभन्दा केही आयश्रोत हुने काम गर्नुपर्छ भन्ने सोच बनाएर जिसीले कौसी खेती सुरु गर्नुभएको थियो । कौसीमा ड्रागन खेती कसरी गर्ने भन्ने युट्युबबाट भिडियो हेरेरै त्यसै अनुसार गरेको उहाँले बताउनुभयो । भिडियो देखेपछि , हुन्छ कि हुँदैन बिचार गरौँ भन्ने सोचले सुरु गरेको ड्रागन (सिउडी) फलको कौसी खेतीले जिसीलाई उदाहरणीय महिलाका रुपमा परिचित बनाउन सफल भएको छ ।
सुरुमा मलेसियन सी भेराइटीको (जसको फल भित्र र बाहिर रातो हुन्छ ) जम्मा तीन वटा बिरुवा २१ सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएको र त्यसैबाट अन्य बिरुवा निकालेर बिस्तार गरेको जिसीले बताउनुभयो । कौसीमा खेती सुरु गर्दा २५ हजार लगानी लागेको उहाँले बताउनुभयो । बिरुवा लगाएको नौ महिनामै उत्पादन दिन सुरु गरेको उहाँले बताउनुभयो । उहाँले फल मात्र होइन बिरुवा समेत बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ । ‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर त्यही बिरुवा आफूले लगाए , त्यसले राम्रो फल दियो , बरुवा सफल भएपछि मैले अन्य व्यक्तिहरूलाई पनि बिरुवा बिक्री गर्न थाले , अहिले म कहाँबाट धेरै बिरुवा पनि लैजानुहुन्छ । ’ जिसीले भन्नुभयो ।
कौसीमा लगाएको ७० वटा बोटबाट गत वर्ष ६ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । बजारका लागि पनि कुनै समस्या नभएको उहाँको भनाई छ । स्थानीय व्यापारीले घरमै आएर लैजाने गरका छन् । उहाँको उत्पादन सबै स्थानीय बजारमै खपत भएको छ । छरछिमेक र जानकारी पाएकाले घरमै आएर बोटबाटै टिपेर लैजाने गरेको उहाँले बताउनुभयो । प्रतिकेजी चार सय रुपैयाँ थोक मूल्यमा बिक्री गर्दै आउनुभएको छ । बैशाख महिनाबाट अहिले सम्म करिव तीन क्विन्टल उत्पादन भइसकेको र अबको दुईतीन दिनमा करिव डेढ क्विन्टल तयारी हुने उहाँको भनाई छ । फल तयारी हुनुअघि नै बुकिङ भइसकेको जिसीले बताउनुभयो । चिसो समय करिव चार महिना डागनको फल लाग्दैन भने गर्मीको नौ महिनासम्म ड्रागनले उत्पादन दिने उहाँले जानकारी दिनुभयो ।
पानीको टंकी राखेका फलामका डन्डी , छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने हुँदा लगानी पनि कम लाग्ने , पात नहुँदा झरेर फोहोर हुन्छ भन्ने पिर पनि नहुने , अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले, कौसी खेतीका लागि ड्रागन (सिउडी) फल खेती एकदमै उपयुक्त रहको जिसीले अनुभव सुनाउनुभयो । जिसीले कुनै पनि प्रकारका रासायनिक मल प्रयोग गर्नुभएको छैन । घरमै कम्पोस्ट मल र झोल मल बनाएर प्रयोग गरेको उहाँको भनाई छ । घरमै बाख्रा, खरायो पाल्नुभएको छ त्यसैबाट निस्कने मल पनि प्रयोग गर्ने गरेको उहाँले जानकारी दिनुभयो । आफ्नो उत्पादन पूर्ण रुपमा अर्गानिक रहेको उहाँले बताउनुभयो ।
सुरुमा लगाउँदा छतमा पनि कस्तो काँडा लगाएको होला भन्नेले अहिले सिको गर्दै आफैँले ड्रागन (सिउडी) फल लगाएको उहाँले सुनाउनुभयो । ‘ड्रागन खेती सफल भएको देखेपछि वरपर छरछिमेकमा समेत लगाउन थाल्नुभएको छ । करिव दश घरमा कौसीमा ड्रागन (सिउडी) फल लगाउनुभएको छ । पहिले म कहाँबाट किनेर लैजानेहरुले अहिले आफ्नै घरमा फलाएर खानुहुन्छ । म एकदमै खुसी छु ।’
आफू जस्तै महिलाहरुका लागि उहाँले खाली समयमा केही न केही आर्थिक श्रोत जुटाउने काम गर्न समेत आग्रह गर्नुभएको छ । महिलाहरु सबैभन्दा पहिले आर्थिक रुपमा बलियो हुनुपर्ने उहाँको धारणा छ । महिला अधिकारका कुरा गरिरहाँदा आर्थिक रुपमा कसरी बलियो बन्न सकिन्छ भनेर तयसतर्फ लाग्न पनि जरुरी रहेको उहाँले बताउनुभयो । जिसी सामाजिक काममा पनि सक्रिय भएर लाग्दै आउनुभएको छ । घरपरिवारले पनि उहाँलाई साथ सहयोग दिदै आएको उहाँ बताउनुहुन्छ । घरधन्दाको काम सकेर , खेती संगै समाजमा हुने हरेक सामाजिक काममा सहभागि समेत हुन भ्याउनुहुन्छ । आफूमा आत्मविश्वास भएमा कुनै पनि काम गर्न असम्भव नहुने उहाँको बुझाई छ ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस