कावासोती । सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरले महिलाद्वारा सञ्चालित दुई वटा सामुदायिक वनलाई फर्निचरका सामाग्री हस्तान्तरण गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो । हुप्सेकोट ४ शंखदेवमा रहेको शंखदेवी महिला सामुदायिक वन उपभोक्ता समुहलाई कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने टेबल , कुर्सी र दराज हस्तान्तरण गरिएको हो । भने देवचुली ६ किर्तिपुरमा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समुहलाई ४० थान कुर्सी हस्तान्तरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरकी अध्यक्ष मना भण्डारीले बताउनुभयो ।
जैविक विविधता (जल जंगल) को आर्थिक सहयोग र सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपरासी बर्दघाट सुस्ता पुर्व) द्वारा सञ्चालित प्राकृतिक स्रोत व्यवस्थापनको लागि समुदायको क्षमता अभिवृद्धि तथा सहयोग कार्यक्रम अन्तरगत उक्त सामग्री हस्तान्तरण गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । महिलाद्वारा सञ्चालित वनलाई हौसला प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले नेतृत्व गरेको सामुदायिक वन छनौट गरेर सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।
शंखदेवमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय नवलपुरका डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरकी अध्यक्ष मना भण्डारीको अध्यक्षता रहेको थियो ।
शंखदेवी महिला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष इन्द्रावती आले मगरलाई डिभिजनल वन अधिकृत अधिकारी र सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरकी अध्यक्ष भण्डारीले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै डिभिजनल वन अधिकृत अधिकारीले सामुदायिक वन भनेको सबैको समान अधिकार भएको संस्था भएकाले समितिमा रहेकाले सोही अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । समितिमा रहेकाले सबैलाई समान रुपमा समेटेर लैजानुपर्ने बताउनुभयो ।
समूह भेलामा सकभर समूहमा आबद्ध रहेका सबै महिला पुरुष सहभागि हुनुपर्ने बताउनुभयो । समूह भेलामा एक दिन समय निकालेर सहभागि हुनका लागि उहाँले आग्रह समेत गर्नुभयो ।
यसैगरी वनबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरै फाइदा पाइने हुँदा वनको संरक्षणमा सबै एक भएर लाग्न उहाँले अनुरोध गर्नुभयो । वन संरक्षणसंगै व्यवस्थापन गर्न पनि उत्तिकै जरुरी रहेको उहाँले बताउनुभयो । वन संरक्षण र व्यवस्थापन गरेपछि मात्रै उपभोग गर्न पाइने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वन समूहका सल्लाहकार झन बहादुर घर्ती मगरले, शंखदेवी महिला सामुदायिक वनलाई जोगाएर घना जंगल बनाउन, महिला समूहको निकै ठूलो भूमिका रहेको बताउनुभयो । १७ वर्ष पहिले स्थापना भएको यस वनमा सुरुआतमा एकाधदुई वटा सालका रूख रहेको वनलाई जोगाए आज घना जंगल बनाउन सफल भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले सहजीकरण गर्नुभएको थियो ।
यसैगरी बिहीबार नै देवचुली ६ को किर्तिपुरमा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समुहलाई ४० थान कुर्सी हस्तान्तरण गरिएको हो ।
वडा अध्यक्ष मीन बहादुर सोती मगर र जिल्ला महासङ्घ उपाध्यक्ष कमल प्रसाद वाचे मगरले कुर्सी हस्तान्तरण गर्नुभएको हो ।