जिल्ला बारका अध्यक्ष चेत प्रसाद शर्माको अध्यक्षता तथा उच्च अदालतका पूर्व न्यायाधीश ऋषि अधिकारीको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला न्यायधिवक्ता हरि घिमिरे, स्रेस्तेदार गम्भिर घिमिरे सहित कानून व्यवसायीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालतका पूर्व न्यायाधीश ऋषि अधिकारीले सबैको चाहना न्यायमा शुद्धता हुनुपर्ने भएको बताउनुभयो । पछिल्लो समय कानूनी क्षेत्रमा सुधार हुँदै गएको र यसमा बारको समेत भूमिका रहेको उहाँले बताउनुभयो ।
उहाँले अझैपनि कानूनी शिक्षाको भने अभाव भएको बताउनुभयो । सामान्य रुपमा कानूनी शिक्षा सबैलाई आवश्यक पर्ने उहाँले बताउनुभयो । कानूनी क्षेत्रमा सेवा लिन आउने जो कोहीको पहिलो न्यायाधीश कानून व्यवसायी हुने भन्दै प्रमुख अतिथि अधिकारीले कानूनले निर्दिष्ट गरको कुरा पालना गर्नु कानून व्यवसायीको कर्तव्य भएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले कतिपय व्यक्ति कानूनको सामान्य जानकारी नहुँदा धेरै समस्या झेल्ने गरेको बताउनुभयो । राज्यले कानून व्यवसायी राख्न नसक्ने ,असहाय, अशक्त, नाबालक, आर्थिक रुपमा विपन्नलाई निशुल्क रुपमा वैतनिक कानून व्यवसायी राखेर कानूनी सहायता उपलब्ध गराउँदै आएको भएपनि यही विषय धेरैलाई थाहा नहुँदा न्यायबाट बञ्चित हुने गरेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका स्रेस्तेदार गम्भिर घिमिरे, जिल्ला न्यायधिवक्ता हरि घिमिरे , कृष्ण प्रसाद सिग्देल, यज्ञराज अधिकारी, गणेशराज सिग्देल लगायतले शुभकामना मन्तव्य सहित आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको समापन गर्ने क्रममा आफ्नो भनाई राख्नै बारका जिल्ला अध्यक्ष चेत प्रसाद शर्माले कानूनको अज्ञानता क्षम्य नहुने तर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कानून व्यवसायीले समेत पालना गर्नुपर्ने आचार संहिताका विषयमा सजग हुनुपर्ने बताउनुभयो ।
बारका सचिव दीपक भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष कमल चापागाईंले स्वागत मन्तव्य राख्नु भएको थियो ।