चितवन — गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढेका छन् । स्वदेशी तथा विदेशी गरी ३ लाख ६ हजार ८३७ जनाले निकुञ्च घुमेका हुन् । अघिल्लो आर्थिक वर्षमा २ लाख ९९ हजारले निकुञ्ज घुमेका थिए ।
चितवन निकुञ्ज कार्यालयका सूचना अधिकारी तथा संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा १ लाख ७६ हजार ३१६ नेपालीले चितवन निकुञ्ज घुमेका छन् । सार्क देशका ३६ हजार ४७१ र अन्य विदेशी पर्यटक ९४ हजार ५० जना छन् । अघिल्ला आर्थिक वर्षलाई आधार मान्ने हो भने चितवन निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा सुधार देखिन्छ । तर १० वर्ष पहिलाको संख्याभन्दा कम हो ।
कसरा पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष गणेश पौडेल एक पटक सरकार नै जाग्नुपर्ने बेला आएको बताउँछन् । ‘गत वर्षभन्दा केही सुधार हुँदै आएको छ । तर विश्व बजारलाई हेरेर धेरै काम गर्नुपर्ने हुन्छ । अहिले युरोप, अमेरिका मात्रै हैन, एसियाका विभिन्न देश र गल्फ क्षेत्रबाट पनि फाट्टफुट्ट पर्यटक चितवन आएका छन् । ती देशमा प्रचारप्रसार बढाए संख्या बढ्ने देख्छु,’ पौडेलले भने ।
विश्व सम्पदा सूचीमा रहेको चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, घडियाललगायत जीव जनावर पाइन्छ । नेपालीहरूको संख्या बढे पनि वन्यजन्तु पर्यटनको महत्त्व र अवधारणा बुझेर भन्दा पनि साथीभाइ, परिवारसँग घुम्न र खानपानका लागि आउने गरेको अनुभव पौडेलसँग छ । ‘विदेशीहरू कसरी हुन्छ बाघ हेरौं । सुरुको दिन नदेखिए पनि एकाध दिन अझै प्रयास गरौं भन्ने स्वभावका हुन्छन् । नेपालीहरू खान, बस्नमा रमाउँछन्,’ नेचर गाइड अर्यालले सुनाए । स्वदेशी पर्यटकलाई पनि वन्यजन्तु पर्यटनमैत्री बनाउन र विदेशीलाई बढीभन्दा बढी ल्याउन सरकारले योजना बनाउन आवश्यक रहेको उनको भनाइ छ ।सहकोषाध्यक्ष चौधरी भारतीय पर्यटकको संख्या बढाउन पनि पहल हुनुपर्ने
बताउँछिन् । ‘तर सडकको हालत खराब छ । जाममा परेर समयमै गन्तव्यमा पुगिन्न । हवाई भाडा महँगो छ । यस्ता कुराले पनि असर गर्छ,’ गणेश पौडेलले सुनाए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज प्रवेश गर्दा स्वदेशीलाई प्रतिव्यक्ति १ सय ५० रुपैयाँ शुल्क लाग्छ । सार्क देशकाले एक हजार रुपैयाँ तिर्नुपर्छ । विदेशीलाई दुई हजार रुपैयाँ तोकिएको छ ।
गत वर्ष निकुञ्जको आम्दानी ३६ करोड ७२ लाख रुपैयाँ भएको छ । आर्थिक वर्ष २०७१/७२ मा दुई लाखभन्दा कम पर्यटक आए पनि २५ करोड ६६ लाख रुपैयाँ राजस्व उठेको थियो ।
निकुञ्ज कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०७१/७२ मा निकुञ्ज घुम्न सर्वाधिक १ लाख २७ हजार ६३९ विदेशी पर्यटक आएका थिए । त्यो वर्ष कुल १ लाख ७८ हजार २ सय ५७ पर्यटक आएकामा स्वदेशी ३५ हजार ९२९ र सार्क देशका १४ हजार ६८९ पर्यटक थिए । त्यो वर्ष विदेशी पर्यटक ७१ प्रतिशतभन्दा बढी आएका थिए भने नेपालीहरू २० प्रतिशत थिए । अघिल्लो आर्थिक वर्ष २०७९/८०मा भने २ लाख ९९ हजार ४१२ जनाले चितवन निकुञ्ज घुमेका थिए । जसमध्ये ५५ हजार ८७२ विदेशी, ३७ हजार ९३५ र स्वदेशी २ लाख ५ हजार ६०५ जना थिए ।
‘भूकम्प गएको वर्षसम्म विदेशी धेरै नै आए । त्यसपछि घटेको संख्या कोरोनापछि त झनै खस्कियो,’ क्षेत्रीय होटल संघ सौराहाकी सहकोषाध्यक्ष बबिता चौधरीले भनिन् । ५/६ वर्षअघि बर्सेनि ३०/३५ हजारको हाराहारीमा नेपालीले चितवन निकुञ्ज घुम्ने गरेको देखिन्छ । कोरोनाकालपछि पनि निकुञ्ज घुम्ने नेपालीको संख्या बढ्दै आर्थिक वर्ष ०७९/८० मा दुई लाख नाघेको थियो । गएको आर्थिक वर्षमा भने कम भएको छ । ‘नेपाली आउनु राम्रो हो । संकटका बेलामा उहाँहरूबाटै कारोबार चल्यो । तर विदेशीको संख्या ८/१० वर्षअघिको जति पनि नहुनु सोचनीय विषय हो,’ सहकोषाध्यक्ष चौधरीले भनिन् ।
२०४६ सालदेखि नेचर गाइड रहेका उदय अर्याल २०५८ सम्म निकुञ्ज घुम्न भनेर आउने नेपालीको संख्या नगण्य रहेको बताउँछन् । अहिले निकुञ्ज घुम्नेमा नेपालीकै बाहुल्य हुन थालेको छ । पछिल्लो समय नेपालले विदेशमा राम्रोसँग प्रचारप्रसार नगरेको उनको भनाइ छ । ‘हामीले डुलाउने केही विदेशी पाहुनाले यी ठाउँहरू इन्डियन रिजनमा पर्छ भनेर बताएको सुनाउँछन् । नेपालको यत्रो आफ्नै पहिचान रहेछ किन प्रचार नगरेको भन्छन्,’ अर्यालले भने । कान्तिपुर