राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जम्बो टोली नवलपुर आउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको जम्बो टोली नवलपुर आउने

नवलपुर ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जम्बो टोली नवलपुर आउने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ पूर्ण बैठक , पाँचौँ घुम्ती बैठक , आमा घर तथा लोक सांस्कृतिक सङ्ग्रहालय अवलोकन एवम् विविध सांस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ७५ जनाको केन्द्रीय टोली नै नवलपुरमा आउने जनाइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरले बिहीबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो ।
प्रतिष्ठानको नवौँ पूर्ण बैठक तथा पाँचौँ घुम्ती बैठक शुक्रवार कावासोती ६ मा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल नवलपुर कार्यालयमा बस्ने छ । साउन १७ शनिवार सोही ठाउँमा भव्य सांस्कृतिक कार्यक्रम समेत हुने जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिका सम्पूर्ण राष्ट्रिय कलाकारहरू शुक्रवार नै कावासोती आइपुग्ने अध्यक्ष घिमिरेले बताउनुभयो । जसका लागि जिल्ला प्रतिष्ठानले तयारी गरेको उहाँले बताउनुभयो । यस कार्यक्रमलाई जिल्लाले एक ऐतिहासिक अवसरका रूपमा लिएको भन्दै जिल्लावासी तथा लोक दोहोरी प्रेमी सम्पूर्ण महानुभावहरूमा कार्यक्रम सफल बनाउनका लागि अध्यक्ष घिमिरेले अनुरोध समेत गर्नुभएको छ ।
यसै गरी सोही अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरको ऐतिहासिक र गौरवशाली परियोजना अन्तर्गत निर्माणाधीन आमा घर तथा लोक सांस्कृतिक सङ्ग्रहालयको अवलोकन, संस्थागत भेटघाट र भव्य सांस्कृतिक कार्यक्रम साउन १७ गते शनिवार हुने भएको उहाले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूले सांस्कृतिक प्रस्तुति रहनुका साथै लोकदोहोरी, नृत्य, वाद्यवादन र साङ्गीतिक कार्यक्रम हुने प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । कार्यक्रममा केन्द्रीय समितिको ७५ जनाको टोलीसँगै जिल्ला अध्यक्षहरू , प्रदेश अध्यक्षहरू समेतको उपस्थिति रहने बताउनुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको जन्मथलो साबिकको नवलपरासी  जिल्ला भएकै कारण यहाँ आमा घर नामकरण गरी भवन निर्माण गरिएको छ । जहाँ लोक सांस्कृतिक सङ्ग्रहालय समेत बन्ने छ । आमा घर र लोक सांस्कृतिक सङ्ग्रहालय हाम्रो परम्परा, संस्कृति र लोककला जोगाउने साझा धरोहरका रूपमा रहने र यो परियोजनाले सांस्कृतिक सम्पदा संरक्षण मात्रै नभई आगामी पुस्तालाई आफ्नो मौलिक पहिचानको ज्ञान दिन पनि मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतिष्ठानका भावी योजना, आमा घर र सङ्ग्रहालयको प्रगति र विस्तारबारे कार्यक्रममा विस्तृत छलफल पनि गरिने छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस